गाउँमा राजनीतिक हावा आउँदा

                                                                                

खै !
किन हो आजभोली मेरो आँखाले
गाउघर रोईरहेको देख्छु
पार्टीको आडमा लुछाचुदी भएको सुन्छु
बेस्सरी नै राजनीतिको
हावाले धकेल्दै छ रे,
गाइने दाइले गाउने
सारङ्गिका भाखाहरुमा पनि
राजनितिक शब्द प्रयोग हुन थालेका छन् रे,
राजनीतिको कालो रङ्गमा पोटिएर
जुर्मुराउन थालेका युवाहरु
बिटोका तराजुमा जोखिदैछन् रे,

भन्ने सुनिन्छ आजभोलि
गरीब अनि दुखीको भरमा
राजनितीक सिढी चढ्दैछौ रे,
कर्जादारी गरीबहरुलाई
भाग्यशाली कुपन बनाउँदैछौ रे,
सायद भुल्यौ होला
तिमी पनि त
त्यै गाउँको माटोमा हुर्केका हौं
त्यै गाउँको गोरेटोमा दौडिएका हौं
त्यै गाउँको पानी पिएका छौं

हिजोआज जताततै
तस्बिरहरुले सामाजिक संजाल
पोटिएका छन्
तस्बिरहरुले सामाजिक संजालका वालहरु रंगिन छन्
त फलानो पार्टीको
म फलानो पार्टीको
जसलाई राजनीतिको परिभाषा थाहा छैन
उसलाई यो मान्छे मेरो पार्टीको
भन्ने राजनितिज्ञहरुको मानसपटलबाट
यस्ता भ्रामक सोचाइहरु कहिले परिवर्तन हुने

विकृति अनि बिसङती मुक्त
हत्याहिंसा मुक्त
घुसखोरी मुक्त
शोषण, दमन मुक्त
स्वच्छ वातावरण रहित
सुशासनको बाटो तिर कहिले हिडाउने

बलेसिको पानीले खाल्तो
पारेको गरीबको त्यो आगन
कहिले ढाकछोप हुने
भोकभोकै बसेका बा-आमाहरुको
ती आगो बिहिन चुलोमा
कहिले आगो बल्ने
चिसिएका मनहरु
नाङ्गिएका खुट्टाहरु
सजाएका सपनाहरु
देखेका आशाहरु
बुनेका ईच्छाहरु
सर्वहारा बर्गका कहिले साकार हुने

त्यसैले
विषादीयुक्त बिउको उत्पादन हैन
मुखैले बिजुली, पानी पुर्याईदिने हैन
बोलीले छुवाछुत हर्टाईदिने हैन
सरकारी ढुकुटीबाट आएको आर्थिकले
आफ्नो धन्सार हैन
गाउँ बनाउनेतर्फ लगानी गर
गाउँको मुहार फेरियो भने
बल्ल
राजनीति गराईको अस्तित्व रहन्छ
अनि बज्ने छन् ताली

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस् ...